काठमाडौं – बंगलादेशका सेनापति वाकर उज-जमानले देशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन्। प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलातर्फ प्रस्थान गरेपछि जनताका नाममा सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन्।
जनरल वाकरले प्रदर्शनकारीहरूलाई हिंसा रोक्न आग्रह गरेका छन्। प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि प्रस्थान गरेकी छन्।
गत जुलाईदेखि सुरु भएको हिंसा बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले राजीनामा दिएर राजधानी ढाका छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेपछि हसिनाले पदबाट राजीनामा दिएकी हुन्।