प्याकेटका तैयारी तथा जंक खानेकुराहरुमा खतरनाक मात्रामा नून र चिल्लो

हल्दीराम, पतन्जली, म्याकडोनाल्ड्स, पेप्सीको लगायतका विश्वविख्यात कम्पनीहरुको उत्पादन नेपालमा पनि अत्यन्तै लोकप्रिय छ । नेपालमा फास्टफुड बजारको ठूलो हिस्सा तिनै कम्पनीका उत्पादनहरुले ओगटिरहेको हुन्छ । तर भारतमा गरिएको एक अध्ययनको रिपोर्टलाई आधार मान्ने हो भने फास्टफुडको नाममा नेपाली बजारमा समेत निर्वाध र ठूलो मात्रमा विक्री हुने त्यस्ता खानेकुराहरु चाहिँ खानेकुरा नभएर स्वास्थ्यको लागि अत्यन्तै घातक पो रहेछ ।

आकर्षक प्याकेटमा राखिने तथा तुरुन्तै खोलेर खाइहाल्न मिल्ने त्यस्ता खानेकुराहरुमा त खतरनाक मात्रामा नून र चिल्लो हुने गरेको कुरा भारतको सेन्टर फर साइन्स एण्ड इन्भायरोमेन्ट (सीएसई) को अध्ययनले देखाएको छ । दिल्लीस्थित सीएसईलाई अनुसन्धान तथा जनपैरवीको क्षेत्रमा थिंकट्यांक मानिन्छ ।

पुस १ गते सार्वजनिक गरिएको सो अध्ययन रिपोर्टमा पेप्सीको, डोमिनोज, पतन्जली, नेस्ले, म्याकडोनाल्डस, बर्गरकिंग, हल्दीराम लगायतका फास्टफुडको क्षेत्रमा बजार कब्जा गरेर बसेका कम्पनीहरुले बेच्ने उत्पादनमा नून र चिल्लोको मात्रा भारतको फुड सेफ्टी एण्ड स्टाण्डर्ड अथोरिटी (एफएसएसएआई)ले निर्धारित गरेको मापदण्ड भन्दा निक्कै बेसी रहेको उल्लेख छ ।

त्यसो त त्यो मापदण्ड फुड सेफ्टी स्टाण्डर्ड्स (लेबलिंग एण्ड डिस्प्ले) रेगुलेसन, २०१९ को विधेयकमा उल्लेख छ, जुन पास हुनै बाँकी छ ।

भारतका ठूला फास्टफुट उत्पादक कम्पनीहरुले चाहिँ त्यसलाई विरोध गर्दै आएको छ । किनभने त्यो विधेयकमा धेरै नून र चिल्लो हुने खानेकुराका प्याकेटमा अनिवार्य रुपमा रातो रंगको लेबल राख्नैपर्ने व्यवस्था छ ।

उक्त रिपोर्टमा खाद्य कम्पनीहरुले आफ्नो उत्पादनमा भएका ट्रान्स फ्याट को मात्रा वास्तविक मात्रामा भन्दा निक्कै घटाएर उल्लेख गर्ने गरेको आरोप पनि लगाइएको छ । सो अध्ययनमा प्याकेटमा उल्लेख गरिएको चिल्लोको मात्रा वास्तविक रुपमा चाहिँ ५० गुनाभन्दा पनि बढी रहेको समेत फेला परेको थियो ।

ट्रान्स फ्याट स्वास्थ्यको लागि हानिकारक मानिन्छ । अमेरिकन हार्ट एशोसिएशनका अनुसार, ट्रान्स फ्याट खाने गर्दा मुटुको रोग लाग्ने र हृदयघात हुने खतरा बढेर जान्छ । त्यसैगरी, यो चिल्लोले टाइप २ डाइबिटिज लाग्ने खतरा पनि बढाइदिन्छ ।

त्यसैगरी, विभिन्न अध्ययनहरुले पनि अत्यधिक मात्रामा नून (सोडियम क्लोराइड) को सेवनले उच्च रक्तचापको समस्या हुने र त्यसले अन्ततः मुटुको रोग, हृदयघात, मृगौला बिग्रने र अन्य थुप्रै स्वास्थ्य समस्याहरु लाग्ने देखाइसकेको छ ।

प्रमुख ब्रान्डहरुमै धेरै नून र चिल्लो

उक्त अध्ययनमा ३३ प्रकारका खाद्यहरुको सर्वे गरिएको थियो, जसमध्ये १४ वटा नमूना त चिप्स, तैयारी चाउचाउ, सुप लगायत अन्य बर्गर, फ्राइहरु, स्याण्डवीच, पिज्जा जस्ता १९ चीजहरु समावेश गरिएको थियो ।

ती खाद्य नमूनाहरुको ल्याबमा परिक्षण गर्दा चिप्सहरुमा धेरै मात्रामा नून र चिल्लो पाइएको थियो ।

उदाहरणको लागि, पेप्सीकोको अंकल चिप्स ब्राण्डमा निर्धारित भन्दा ४.४ गुनाबेसी नून र चिल्लो पाइएको थियो । एफएसएसएआईले निर्धारित गरेको मापदण्डअनुसार हुनुपर्ने चाहिँ १०० ग्राममा ०.२५ मिलिग्राम नून र ट्रान्स फ्याट लगायत सबै चिल्लोहरु मिलाएर ८ ग्राम मात्रै हुनुपथ्र्यो ।

त्यसैगरी, हल्दीरामको नट क्र्याकरमा नून ७.९ गुना बढी र चिल्लो ५.६ गुना बढी फेला परेको थियो ।

तैयारी चाउचाउमा नेस्लेको म्यागीमा नून ५.८ गुना बेसी थियो भने पतन्जलीको आटा नुडलमा नून ६.२ गुनाबेसी फेला परेको थियो ।

जंक खानेकुरा समूहमा सववेको चिकन सिख कवाबमा नून दोब्बर र चिल्लो १.७ गुना बेसी फेला परेको थियो । निर्धारित मापदण्डभन्दा त्यतिकै हाराहारीमा बढी नून र चिल्लो म्याकडोनाल्डस्, डोमिनोकोज र पिजाहजका उत्पादनहरुमा पनि फेला परेको थियो ।

झुक्याउने लेबलहरु

अध्ययनले दावी गरेअनुसार, थुप्रै प्याकेट खानेकुराहरुमा निर्धारित मापदण्डभन्दा धेरै बढी मात्रामा ट्रान्स फ्याटहरु फेला परेको थियो ।

उदाहरणको लागि, लेजको म्याजिक मसलामा प्रति सय ग्राममा ०.२१ ग्राम ट्रान्स फ्याट फेला परेको थियो, जसकि उसको प्याकेजको लेबलमा ०.१ मात्र उल्लेख गरिएको थियो ।

उक्त अध्ययनका अनुसार, सबैभन्दा बढी फरक चाहिँ हल्दीरामको नूनयुक्त चिप्सहरु, नट क्र्याकर र आलु भुजियामा फेला परेको थियो ।

त्यसैगरी, जंक खानेकुराहरुको समूहमा चाहिँ म्याकडोनाल्डस्को नमूनामा धरै अन्तर देखिएके थियो । उदाहरणकोे लागि, सीएसईको ल्याबमा परीक्षण गर्दा कम्पनीको फ्राइ गरिएको खानेकुरामा प्रति १०० ग्राम खानेकुरामा ०.१५ ग्रांम ट्रान्स फ्याट फेला परेको थियो, जबकि कम्पनीले त्यसमा ०.०९ ग्राम मात्रै रहेको जनाएको थियो ।

स्रोतः द प्रिन्ट

प्रतिक्रिया