लमजुङ, कास्की, कपिलवस्तु, कैलाली, ओखलढुंगा र मोरङमा मनसुनको त्रास

सांकेतिक तस्विर

काठमाडौं । देशभर चलिरहेको मनसुनका कारण १३ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र चट्याङबाट १३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सबैभन्दा बढी लमजुङका छन्। लमजुङको क्व्होलासोथार गाउँपालिका(३ बगुममा पहिरोले घर बगाउँदा एक परिवारका ४ जनाको मृत्यु भएको छ। मृतकमा ६७ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ र उनकी दुई छोरीहरू ८ वर्षिया इच्छा गुरुङ अनि ४ वर्षिया नम्रता गुरुङ रहेका छन्।

लमजुङकै दोर्दी गाउँपालिका(९ धैरेनी बस्ने रामकाजी सुनारको घरको माथिबाट खसेको पहिरोले उनका १६ वर्षीय छोरा विकल सुनारको मृत्यु भएको छ। पहिरोमा परी गम्भीर घाइते भएका १८ वर्षीय मिलन सुनारको उपचार क्रममा मृत्यु भएको छ।

कास्कीमा पनि पहिरोका कारण दुई जनाको मृत्यु भएको छ। मादी गाउँपालिका(५ चितेपानी घुम्तीमा पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको छ।

पोखरा महानगरपालिका(२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ। उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु सुनार घाइते भएकी छन्।

कपिलवस्तु र कैलालीमा चट्याङबाट दुईरदुईजनाको मृत्यु भएको छ। कपिलवस्तुको यशोधरा गाउँपालिका वडा ६ भैसाहीयाका २२ वर्षीय महेश कलवार र बुद्धभुमि नगरपालिका वडा १० प्रेम नगरका १८ वर्षीय राजु ठाकुरको मृत्यु भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१८ का २७ वर्षीय सलिम चौधरी र जोशीपुर गाउँपालिकाका जयराम डगौँराको पनि चट्याङबाट मृत्यु भएको छ।

ओखलढुंगामा पहिरोबाट एक जनाको मृत्यु भएको छ। चिशंखुगढी गाउँपालिका–५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको छ। निजकी १८ वर्षीया मेनुका खत्री घाइते भएकी छन्।

मोरङ र सुनसरीको सिमानामा पर्ने बुढी खोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ। मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ।

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको छ। उनीसँगै बगेका दुईजना बेपत्ता छन्।

प्रतिक्रिया