☰

लामो समयपछि नयाँ आइपीओ आँउदै,मंसिर १० मा कान्तिपुर फर्मास्यूटिकल्सको पालो

काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँबराबरको ८ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गर्नेछ। यो शेयर काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले खरिद गर्न सक्नेछन्।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ९० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली योग्य हुनेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।

स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने मंसिर १५ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि मंसिर २४ गतेसम्म थप हुनेछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेडको मेरो शेयर अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ४.५० वर्ष र डिस्काउन्ट लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ। त्यसैगरी, कम्पनीको खुद वर्तमान मूल्य १ अर्ब ५९ करोड ९८ लाख ६६ हजार ७५८ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २४.२७ प्रतिशत रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय