काठमाडौं: अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी-पहिरोमा परी २४ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्। प्रहरीले ललितपुरमा ९, भक्तपुर, काभ्रे, र पाँचथरमा ३-३, सिन्धुपाल्चोक र धनकुटामा २-२, तथा काठमाडौं र झापामा १-१ जनाको मृत्यु भएको जानकारी दिएको छ।
ललितपुरमा मात्रै बाढी र पहिरोले ९ जनाको ज्यान गएको छ भने ११ जना अझै बेपत्ता छन्। भक्तपुरमा सूर्यविनायक नगरपालिका-९ पलाँसेमा पहिरोले घर पुरिँदा कालिकोटका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा २४ वर्षीया विमला शाही, उनकी १४ वर्षीया बहिनी मनिषा, र ४ वर्षीया छोरी सूर्या बम रहेका छन्।
काभ्रेको तेमाल गाउँपालिका-७ मा पहिरोले घर पुरिँदा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको छ। सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका-३ मा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको पहिरोले पुरिएर मृत्यु भएको छ। पाँचथरको फिदिममा पनि पहिरोले घर पुरिँदा २४ वर्षीया सपना शेर्पा र उनकी पाँच वर्षीया छोरी डोल्माको ज्यान गएको छ।
धनकुटामा पहिरोमा परी ३० वर्षीया आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको छ। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ भने केही व्यक्ति अझै पुरिएका छन्।
झापामा माइखोलामा आएको बाढीले ३५ वर्षीया धनमाया घोरासैनीको ज्यान गएको छ भने दुई जना बेपत्ता छन्। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी बजारमा बाढीले ३० घर बगाएको छ। कुलेखानी जलाशयका ढोका खोलिएकाले पानीको सतह बढेर बाढी आएको हो।
यसबाहेक, पहिरोका कारण हेटौँडा–काठमाडौँ सडकखण्डसहित कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली, कुलेखानी–फाखेल, र त्रिभुवन राजपथ अवरुद्ध भएका छन्।