सौराहामा आजदेखि फूड फेस्टिबल सुरु

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि भ्यालेनटाइन विषेश फूड फेस्टिबल हुँदैछ । रेष्टुरेन्ट एण्ड बार एसोसियन रेवान सौराहाले आयोजना गरेको फेस्टिवलको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्नेछन् ।

उद्घाटन गैडाचोकमा दिउसो ३ बजे हुने आयोजकले जनाएको छ । 

फेस्टिवललाई विशेष बनाउन व्यवसायीहरुले भब्य तयारी गरेका छन् । भ्यालेनटाइन डे मनाउन परिवार तथा प्रमिल जोडीको स्वागतका लागि व्यवसायीहरुले सौराहालाई सिंगारेका छन् । भ्यालेन्टाइन डे मनाउन अन्त जान नपर्ने गरी हामीले तयारी गरेका छौं फेस्टिबलका संयोजक ध्रुव गिरीले भने सौराहामा भ्यालेनटाइन डे लाई रोमान्टिक बनादैछौं ।

स्वदेशी तथा विदेशी पर्यटक आगमनको हिसावले सौराहा विश्वमै चर्चित पर्यटकीय गन्तव्य हो । मुलुकको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा स्थापित सौराहामा व्यवसायीहरुले पर्यटन विकासको लागि फेष्टिवल आयोजना गर्दै आएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए । फेस्टिबल मार्फत पर्यटक भित्र्याउने अर्को उद्देश्यले सुरु भएको फूड फेस्टिवल पछिल्लो समय प्रणय दिबस बनाउने जोडीका लागि अबसरको रुपमा विकास गरिदै आएको छ । भ्यालेनटाइन डे मा परिवार तथा प्रेमिकासंग रमाउनेहरुका लागि व्यवसायीहरुले सौराहालाई उत्कृष्ट थलोको रुपमा चिनाएका छन् । सौराहामा आएका विदेशी पर्यटक तथा स्वदेशी पर्यटकहरुले पनि सौराहामै प्रणय दिवस मनाउने गरी तयारी गरिएको फेस्टिवलका संयोजक ध्रुव गिरीले जानकारी दिए ।

हात्तीचोक देखि गैंडाचोक सम्म डालो र लाइट राखेर सौराहालाई झिलिमिली बनाइएको छ । सडकमै खाऔं सडकमै रमाऔ भन्ने नाराका साथ हात्तीचोकदेखि ड्याक सम्म र मल्लुचोक देखि गैंडाचोक सम्मको बजार क्षेत्रमा व्यवसायीहरुले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई पस्किने छन् । यस पटक पृथक मनाउन थालेका छौं संयोजक गिरीले भने सौराहाको मुख्य बजारमा प्रवेश गर्दा वित्तिकै पर्यटकलाई नयाँ सौराहाको अनुभूति दिँदैछौं ।

फेस्टिबलमा हरेक दिन हुने सडक फुड विभिन्न जातजातिहरुको झाँकीहरुको प्रस्तुती रहने छ । तीन दिनसम्म सञ्चालन हुने फूड फेस्टिबलमा स्थानीय परम्परागत तथा विदेशी खाना, स्थानीय कला संस्कृति, विभिन्न जातजातीको झाँकी प्रस्तुत हुने रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमाले बताए । नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रिय स्तरका खानाको परिकार उपलब्ध हुने फुड फेस्टिबलमा दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ । करिब ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय