आज विजयादशमी: मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका थापिँदै,साइत बिहान ११:३६

काठमाडौं— आज विजयादशमी, दुर्गापक्षको मुख्य दिनका रूपमा नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउनका लागि आज बिहान ११:३६ बजे उत्तम साइत रहेको जनाएको छ।

दशैँको पूजा कोठामा नव दिनसम्म गरिएको पूजा र आराधनापछि नवदुर्गाको प्रसाद मान्यजनबाट आज ग्रहण गरिन्छ। समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सबैले साइत खोज्न नपर्ने बताए। तर, राज्य सञ्चालकहरूले भने शुभ साइतमै टीका लगाउनुपर्ने धार्मिक मान्यता रहेको उल्लेख गरे।

धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले विजयादशमीको दिन टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने र लगाइदिनेले पश्चिम फर्किनुपर्ने बताए। यसरी आशीर्वाद ग्रहण गर्दा चन्द्रमालाई दाहिने र सम्मुख पार्नुपर्ने धार्मिक विधि रहेको उनले स्पष्ट पारे।

आजको दिन टीका ग्रहण गर्न नपाउनेहरूले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका र जमरा लगाउन सक्छन्। नवदुर्गाको प्रसादस्वरूप पहेँलो जमराले समृद्धि र स्वास्थ्यको प्रतीक मानिन्छ। वैज्ञानिक प्रमाण अनुसार, जमराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, विशेष गरी अहिले फैलिएको डेङ्गुका लागि लाभदायक मानिन्छ।

त्रेता युगमा भगवान् रामले असत्यका प्रतीक रावणलाई विजय गरेको दिनको सम्झनामा विजयादशमी पर्व मनाइन्छ। यस दिन, गुरु पुरोहित, हजुरबा, बा, आमा लगायत मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्ने चलन छ।

विजयादशमीमा टीका लगाउँदा विशेष मन्त्रद्वारा आशीर्वाद दिइन्छ, जसले दीर्घायु, ऐश्वर्य, शक्ति, शौर्य, र कीर्तिको कामना गरिन्छ। पुरुष र महिलालाई अलग-अलग मन्त्रले आशीर्वाद दिने परम्परा रहेको छ।

नेपालका धेरै भागमा आज नवदुर्गाको प्रसादस्वरूप टीका लगाइन्छ, तर कतिपय स्थानमा कोजाग्रत पूर्णिमाका दिनसम्म टीका र जमरा लगाइन्छ।

प्रतिक्रिया