काठमाडौंँ - तनहुँको व्यास नगरपालिका–९ को गजुरे स्वास्थ्य चौकीकी अनमी प्रजापती कुमालमाथि कुटपिट भएको छ । बुधबार बिहान ७ : ३० बजे कुमालमाथि सोही वडाको गजौडे गाउँकी अस्मिता गोदारले कुटपिट गरेकी हुन् ।
गजुरे स्वास्थ्य चौकीको बर्थिङ सेन्टमा कार्यरत कुमाल सेन्टरकै माथिल्लो तलामा रहेको क्वार्टरमा सुतिरहेको बेला अस्मिताले कोठाबाहिर बोलाएर कुटपिट गरेको व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बताए । अस्मिताले मुक्का र लात्तीले हान्ने, घाँटी थिच्ने, भित्तामा टाउको ठोक्काइदिने गर्दै तल्लो तलासम्म लछारपछार ल्याएर घाइते बनाएको सोतीले बताए । घाइते कुमाललाई स्वास्थ्य चौकीकै स्टाफ र स्थानीयले अस्मिताबाट छुटाएका थिए ।
अहिले कुमालको तनहुँको दमौली अस्पतालमा उपचार भइरहेको छ भने पीडक अस्मिता दमौली प्रहरीको नियन्त्रणमा छिन् । घाइते कुमालको दाहिने आँखामा चोट लागेको र टाउकोको पछाडिको भागमा चोट लागेको उनले जानकारी दिए ।
आफूमाथि एक्कासि आक्रमण भएको कुमालले बताएकी छिन् घटनाको कारणबारे दमौली प्रहरीले अनुसन्धान गरिरहेको छ । कुमाल गजुरे स्वास्थ्य चौकीकी स्थायी कर्मचारी हुन्, बर्थिङ सेन्टरमा जुनसुकै बेला उठेर सेवा दिनुपर्ने भएकाले कुमाल लगायतका कर्मचारी क्वार्टरमै बस्ने गर्थे ।