साना लगानीकर्तालाइ शेयर बजारबाट धपाउने चलखेल, आइपीओ भर्नै मुश्किल

काठमाडौं - कुनै समय थियो सेयर बजार भनेको निश्चित व्यक्तिहरूलाई मात्रै थाहा थियो र उनीहरूको मात्रै पहुँच थियो। कोरोना सङ्क्रमणको समयमा सेयर बजारप्रति सामान्य लगानीको व्यापक चासो मात्रै बढेन सहभागिता पनि बढ्यो । 

जब निफ्राले नेपालमा सबैभन्दा ठूलो आइपियो सार्वजनिक गर्यो त्यसपछाडि सर्वसाधारणमा आइपीओप्रतिको क्रेज पनि बढ्यो र संख्या पनि बढ्यो । त्यही समयमा नेपालमा प्राथमिक सेयरमा गाउँघरका मानिसहरूको समेत पहुँच पुग्न लाग्यो।

प्राथमिक सेयर र सेयर बजारबाट हुनसक्ने फाइदाको बारेमा चिया चौतारी हुँदै सबै ठाउँमा चर्चा हुन थाल्यो। नेपालमा अहिले २० लाख हाराहारीमा डिम्याट युजरहरू रहेका छन्। साथै १५ लाख हाराहारीले प्राथमिक सेयरको लागि आवेदन दिने गरेका छन् । 

पछिल्ला दुई वर्ष धेरै कम्पनीहरूले प्राथमिक शेयरमा चासो देखाए र सर्वसाधारणहरूले पनि प्राथमिक शेयरमा जमेर लगानी गरे। अहिले प्राथमिक सेयर सार्वजनिक हुने क्रम केही सेलाएको छ, तर पाइपलाइनमा भने धेरै कम्पनी रहेका छन्। 

अब भने सर्वसाधारणहरूले प्राथमिक सेयर भर्न सक्ने अवस्था भने नहुने देखिएको छ। विभिन्न कम्पनीहरुले प्रिमियम साथै बुक बिल्डिङ प्रविधिबाट आइपिओ निष्कासन गर्ने हुँदा आइपिओ खरिद गर्न चर्को मूल्य चुकाउनुपर्ने देखिन्छ । 

यसभन्दा अगाडि प्रतिशयर १०० र न्यूनतम १० सेयरको १०००मा प्राथमिक सेयरलाई आवेदन दिन सकिन्थ्यो। तर पछिल्लो समय भने प्रिमियममा आइपिओ निष्कासन गर्दा यो रकम बढेर २००० र त्योभन्दा माथि पनि पुग्ने गरेको छ। 

अझ बुक बिल्डिङ विधिमार्फत आइपिओ निष्कासन गर्ने कम्पनीहरूको लागि भने धेरै ठूलो रकम जोहो गर्नुपर्ने हुन्छ। किनभने यी कम्पनीहरूको आइपिओमा कम्तीमा ५० कित्ताको लागि आवेदन दिनुपर्ने नियम छ । आइपिओको प्रति शेयर मूल्य प्रिमियममा हुने भएको हुँदा त्यसको लागि थप पैसा जोहो गर्नुपर्छ जुन सामान्य सर्वसाधारणको लागि असम्भव हुन्छ । 

अब आउने क्रममा रहेको रिलायन्स मिलको आइपीओको लागि ५० कित्ता भर्न ४१ हजार भन्दा धेरै रकमको जो गर्नुपर्ने हुन्छ। जुन सामान्य लगानीकर्ताको लागि सम्भव छैन । 

यी सम्पूर्ण कुराहरू हेर्दा प्राथमिक सेयरमा सर्वसाधारणको पहुँचलाई बिस्तारै कम गर्दै लान खोजिएको देखिन्छ । 

प्रतिक्रिया