काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुई डिलक्स बस त्रिशूली नदीमा खस्दा २३ जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, बेपत्ता भएका २३ जनाको शव फेला परेको हो।
शवहरूमध्ये ९ जनाको पहिचान हुन सकेको छैन। सनाखत नभएका शवहरूमध्ये ८ जना पुरुष र १ जना महिला छन्। असार २८ गते काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस त्रिशूलीमा खसेका थिए। दुवै बसमा सवार अन्य यात्रुहरू र बसहरू बेपत्ता छन्।
भरतपुर महानगरपालिका स्थित गोलाघाट, पूर्वी नवलपरासीमा पर्ने ब्यारेज पुल, गण्डक नहर र नवलपरासी पश्चिमको त्रिवेणीमा शवहरू फेला परेका हुन्। पूर्वी नवलपरासीमा मात्र १६ वटा शव भेटिएको छ।
अहिलेसम्म ९ जनाको पहिचान हुन बाँकी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।