टोक्यो - बिहीबार अपराह्न जापानमा एक शक्तिशाली भूकम्प महसुस भयो। अमेरिकन भौगर्भिक विभागका अनुसार भूकम्प दक्षिणी जापानमा केन्द्रित थियो। भूकम्पपछि मियाजाकी, कोची, ओइता, र कगोशिमा क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको जापानी टेलिभिजन एनएचके वर्ल्डले जनाएको छ।
जापानका प्रधानमन्त्रीले भूकम्पपछि सरकारको तर्फबाट निर्देशन जारी गरेका छन्। उनले जनतालाई समयमै सुनामी र अन्य जोखिमबारे जानकारी दिन आग्रह गरेका छन्। साथै, नागरिकलाई जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँमा सार्न र सम्भावित क्षतिको आकलन गर्न सरकारी निकायलाई निर्देशन दिएका छन्। स्थानीय सरकारसँग मिलेर काम गर्न पनि उनले आग्रह गरेका छन्।
भूकम्पको केन्द्र जापानको क्यूशु द्वीपमा, जमिनको सतहदेखि करिब ८.८ किलोमिटर गहिराइमा रहेको बताइएको छ। यसअघि १ जनवरीमा त्यहाँ ७.८ म्याग्निच्युडको भूकम्प आएर ३१८ जनाको मृत्यु र १३ सय घाइते भएका थिए। इशिकावामा भूकम्पले कयौँ स्थानमा जमिन फाटेको थियो र २०० घर जलेर ध्वस्त भएका थिए।
मार्च २०११ मा जापानमा आएको भूकम्पले १६ हजार जनाको ज्यान लिएको थियो। जापानको सुनामी वार्निङ सिस्टमअनुसार, भूकम्पपछि समुद्रमा १ मिटर अग्लो लहर देखिएमा एडभाइजरी जारी गरिन्छ। लहरको उचाइ ३ देखि ५ मिटर पुगेमा अलर्ट जारी हुन्छ, र ५ मिटर वा सोभन्दा अग्लो लहरलाई मुख्य सुनामी मानिन्छ।