कुलमानको कमाल - विद्युत चुहावट १० प्रतिशतमा सीमित

काठमाडौं । एक जना मात्र इमान्दार कर्मचारी हुने हो भने कुनै संस्थामा कति फरक पर्छ भन्ने राम्रो उदाहरण हुन् नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उनी आएसँगै विद्युत प्राधिकरणमा फेरि मुना पलाउन थालेका छन् । 

प्राधिकरणका अनुसार सो अवधिमा वितरणतर्फको विद्युत् चुहावट १०.४१ प्रतिशतमा सीमित राख्न सफल भएको छ । सामान्य हिसाबमा एक प्रतिशत बराबरको चुहावट नियन्त्रण गर्दा झण्डै १ अर्ब रुपैयाँ बराबरको आर्थिक लाभ हुन जाने प्राधिकरणको बुझाइ छ ।नियमितरुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको योजनावद्ध अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.०९ प्रतिशत विन्दुले घटाएको छ । गत वर्ष वैशाखसम्मको वितरणतर्फको विद्युत् चुहावट ११.५० प्रतिशत थियो ।

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

यस अवधिमा नयाँ सवस्टेशन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सवस्टेशनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ भएको लगायतका कारणबाट चुहावट घटेको हो ।

प्राधिकरणले हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गरिरहेको छ । ओभरलोड भएका सवस्टेशनको सुदृढीकरण तथा नयाँ सवस्टेशनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काम गरिरहेको छ । गर्मीमा तराई/मधेशमा चुहावट केही बढ्छ तर प्राधिकरणले यसलाई नियन्त्रण गरी चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको जनाएको छ ।

सवस्टेशनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहनलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो ।

प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकैरुपमा चलाइएको छ ।

प्रतिक्रिया