नेपालीसँग पैसा जति पनि छ - अर्थमन्त्री शर्मा

काठमाडौं - हिजो भएको एक हस्ताक्षर कार्यक्रमा बोल्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालीसँग पैसाको खाँचो नभएको बताएका छन् । 

उनले सो कार्यक्रममा ठूला परियोजनाका लागि पुँजी जुटाउन स्वदेशमै पर्याप्त पैसा भएको भन्दै जनताको विश्वास जित्ने परियोजना छनौट गर्नुपर्ने बताए ।

‘अहिले कुनै कम्पनीले प्राथमिक शेयर निस्काशन (आईपीओ) गर्यो भने माग भन्दा धेरै ठूलो रकमको आवेदन भइरहेको देखिन्छ । यो भनेको नेपालीसँग पैसा त छ, तर प्रतिफल दिने उपयुक्त परियोजना नहुँदा लगानी जुटिरहेको छैन भन्ने हो’ उनले भने, ‘त्यसैले स्वदेशबाटै पँुजी जुटाउन पनि जनताले प्रतिफल दिन सक्छ भन्ने विश्वासयोग्य परियोजना छनौटतर्फ ध्यान दिनुहोला ।’उनले जलविद्युत परियोजनामा स्वदेशी तथा बिदेशी लगानी आउनुको कारण प्रतिफलको ग्यारेन्टी नै प्रमुख कारण भएको बताउँदै अन्य परियोजनामा पनि प्रतिफलको सुनिश्चितता दिन सके लगानीका लागि खासै समस्या भोग्नुनपर्ने बताए । ‘आफैं ऋण तिर्न सक्षम परियोजना छनौट गर्यौं भने त्यो ऋण परियोजनाले नै तिर्छ, जनतालाई अनावश्यक भार पर्दैन । त्यसैले यस्ता परियोजना छनौटमा विशेष ध्यान दिनुपर्छ’ उनले भने । उनले सरकार–निजी क्षेत्र साझेदारीलाई थप सुदृढ बनाउन आवश्यक सुझाव दिन पनि निजी क्षेत्रलाई आग्रह गरे । 

उनले लगानीको बाताबरण बढाई ‘डुईङ बिजनेस’ मा थप सुधार गर्नुपर्ने धारणा राखे । लगानीकर्तालाई छिटो र छरितो ढङले सहजीकरण गर्न बोर्डलाई उनले निर्देशन दिए । बिदेशी लगानी ल्याउँदा प्रविधि पनि सँगै भित्र्याउने सर्त राख्न उनले निर्देशन दिए । ‘हामीले लगानी भित्र्याउँदा अब विकसित देशको प्रविधि पनि ल्याउनतर्फ ध्यान दिनुपर्छ । प्रविधि ल्याइयो भने हाम्रो निजी क्षेत्र बलियो हुन्छ’ उनले भने । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले ३ खर्बको परियोजना निर्माण प्रकृयामा गएको र केहीले उत्पादनसमेत दिन थालेको जानकारी दिए । उनले बुझाईमा एकरुपता र सोचमा स्पष्टता कायम गराएर लगानीकर्तासँग सहकार्य गर्ने बताए । अहिले परियोजनाबारे अध्ययन गर्ने र थप सहजीकरण गर्ने समय छोट्याएको जानकारी दिए । उनले कुन क्षेत्र र कुन परियोजनमा बिदेशी लगानी चाहिने वा नचाहिने भन्ने बारे अध्ययन गरेर निष्कर्षमा पुग्नका लागि सबैलाई आह्वान गरे । 

कार्यक्रममा उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बोर्ड र निजी क्षेत्रको सहकार्य ऐतिहासिक भएको बताए । उनले चाँडै भारत र चीनमा लगानी सम्मेलन हुन लागेको र त्यहाँ उपस्थित भएर नेपालमा लगाानीका लागि आह्वान गर्ने जानकारी दिए । ‘बिदेशी लगानी सहज बनाउन हामीले गर्नुपर्ने प्रयास गर्नेछौं । सरकारले बारम्बार भोग्दै आएको शोधानान्तर घाटा र तरलता अभावको समस्याालाई सम्बोधन गर्नेगरी बिदेशी लगानी भित्र्याउन यो एमओयूले थप सहज बनाउने’ गोल्छाले भने ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय