धितोपत्र बोर्डको अध्यक्ष बन्न आधा दर्जन बढी दौडधुपमा, कांग्रेस निकट आकांक्षी उत्साहित


काठमाडौं–सर्वोत्तम शेयर प्रकरणमा नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्म ढुंगाना पदच्युत भए पछि नयाँ अध्यक्ष नियुक्तका लागि सरकारले प्रक्रिया सुरु गरेको छ । अर्थमन्त्रालयको नेतृत्व नेकपा माओवादीका नेता जनार्दन शर्माले गरेको भए पनि गठनबन्धन सरकार भएकाले बोर्डको अध्यक्ष नियुक्त हुन विशेष गरी नेपाली कांग्रेस र नेकपा माओवादी निकटले तिब्र लविङ सुरु गरेका छन् ।


धितो पत्र बोर्ड अर्थमन्त्रालय अन्र्तगतको निकाय हो । नियुक्ति प्रक्रिया अघि बढाउनका लागि समिति गठन भएको छ । यसअघिसम्म योजना आयोगका सम्बन्धित फाँट हेर्ने सदस्यलाई छनौट समिति संयोजक बनाउने गरिएकोमा अहिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल आँफै संयोजक भएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले नियुक्त गरेका पौडेल संयोजक भए पछि काँग्रेस निकट आकांक्षी  उत्साहित भएका छन् ।


सदस्य पठाउनु पर्ने ठाउँमा उपाध्यक्ष पौडेल आँफै छनोट समितिमा गए पछि अध्यक्ष बनाउन चलखेल सुरु भएको बताइएको छ । मन्त्रालयले आयोगलाई सम्बन्धित फाँट हेर्ने सदस्य पठाउनु भनि पत्र लेखेको भए पनि उपाध्यक्ष पौडेलले आफैंलाई संयोजक तोकेर पत्र पठाएको स्रोतको दाबी छ ।


छनौट समितिमा नेकपा माओवादीको कोटाबाट नियुक्त भएका आयोगका सदस्य  रामकुमार फुयाँल जाने सबैको अनुमान थियो । उपाध्यक्ष पौडेल आँफै संयोजक भए पछि यसमा प्रधानमन्त्री देउवाको पनि रुची रहेको बुझिएको छ । तीन सदस्यीय समितिको संयोजकमा अब योजना आयोगका उपाध्यक्ष पौडेल, अर्थ सचिव मधु मरासीनी र प्रा.डा. नारायण प्रसाद पौडेल सदस्य रहनेछन् । पौडेल संयोजक भए पनि कांग्रेस निकट आकांक्षी उत्साहित भएका छन् । छनोट समितिले १५ दिनभित्र प्राप्त आवेदनमध्ये प्रारम्भिक छनौट गरेर अन्तरवार्ता मार्फत ३ जनाको नाम अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्नेछ । त्यस मध्येबाट एक जना अध्यक्ष छनोट हुनेछ ।


बोर्डको अध्यक्षका लागि काँग्रेस निकट मानिने बोर्डका कार्यकारी निर्देशक डा. निरज गिरी, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशहरू सेयर बजार विज्ञ डा. गोपाल भट्ट, शिवनाथ पाण्डे, हालका कार्यकारी निर्देशक गुणाकर भट्ट र नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियालाई आकांक्षी छन् । त्यसैगरी, माओवादी निकट मानिने बोर्डका उप–कार्यकारी डा. नवराज अधिकारी र बीमा समितिका पूर्व अध्यक्ष चिरिञ्जिवी चापागाई दाबेदार छन् । यस्तै नेकपा एकीकृत समाजवादी निकट चार्टर्ड एकाउन्टेन्ट कृष्णप्रपाद आचार्यले पनि बोर्ड अध्यक्ष बन्ने इच्छा देखाएका छन् ।

प्रतिक्रिया