बहादुर नारी जसले आफ्नो हुनेवाला श्रीमानलाई पक्राउ गरिन

आसाम प्रहरीकी एक महिला सब इन्स्पेक्टर (सई) ले आफ्नो हुनेवाला श्रीमानलाई ठगी गरेको आरोपमा पक्राउ गरेकी छिन् ।

नौगाउँ प्रहरी चौकीमा कार्यरत सब–इन्स्पेक्टर जुनमोनी राभाले आफ्ना भावी श्रीमान राणा पोगागविरुद्ध एफआईआर दर्ता गरेकी थिइन् । राणाले ओएनजीसी अर्थात् तेल र प्राकृतिक ग्यास आयोगमा आफूलाई जनसम्पर्क अधिकारी भएको दाबी गरेका थिए । हाल राणालाई नौगाउँ प्रहरीले दुई दिन प्रहरी हिरासतमा राखेर सोधपुछ गरिरहेको छ ।

केही महिनाअघि पनि यी महिला सब इन्स्पेक्टरले सत्तारुढ भाजपा विधायकलाई फोनमा कडा जवाफ दिएकी थिइन्, जसको मिडियामा निकै चर्चा भएको थियो ।जुनमोनी र राणाले गत वर्ष अक्टोबरमा इन्गेजमेन्ट गरेका थिए । उनीहरु यही वर्ष नोभेम्बरमा विवाह गर्ने तयारीमा थिए।

नौगाउँ प्रहरी चौकीमा परेको उजुरीका अनुसार प्रहरी नायव निरीक्षक जुनमोनीले आफूले जीवनसाथी बनाउन लागेको व्यक्ति वास्तवमा कथित ठगी भएको इन्गेजमेन्ट पछि नै थाहा पाएको बताइन् ।

उजुरी अनुसार, अभियुक्त पोगागले जुनमोनीलाई पहिलो भेटमा ओएनजीसीको जनसम्पर्क अधिकारीको रूपमा परिचय गराएका थिए ।तर, इन्गेजमेन्टपछि जुनमोनीले यस्ता धेरै प्रमाण फेला पारिन्, जसका कारण उनलाई आफ्ना भावी श्रीमानमाथि शंका लाग्न थाल्यो ।

यसबारे थप अनुसन्धान गर्दा उनी धेरै ठगीका घटनामा संलग्न रहेको पत्ता लाग्यो ।उनीमाथि धेरै जनालाई जागिर दिने झूटो बहानामा करोडौं रुपैयाँ ठगी गरेको आरोप पनि लागेको छ ।

प्रतिक्रिया