सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका आधारमा नेपाल प्रहरीका कर्मचारीहरूलाई तत्काल अवकाशमा नपठाउन अन्तरिम आदेश जारी गरेको छ। बिहीबार हरिप्रसाद फुयालको इजलासले नेपाल प्रहरीका २१ जना कर्मचारीसहित ३० वर्षे सेवा अवधि पूरा भएका अन्य प्रहरी कर्मचारीहरूलाई अवकाशमा नपठाउन अन्तरिम आदेश दिएको हो।
आदेशमा, ५० वर्षकै उमेरमा अवकाश हुँदा निवेदक र राज्य दुवैको हितमा नदेखिएको उल्लेख गरिएको छ। सर्वोच्चले २०७० सालमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने सुझाव दिए पनि यस सम्बन्धमा आवश्यक कानुनी व्यवस्था नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।
यसअघि, २०७१ सालमा सर्वोच्चको बृहत पूर्ण इजलासले पनि प्रहरी नियमावलीमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन निर्देशन दिएको थियो, तर उक्त आदेश अहिलेसम्म कार्यान्वयन नभएको फुयालको इजलासले जनाएको छ।
यसै मुद्दामा निवेदक एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी कर्मचारीले ३० वर्षे सेवा अवधिको प्रावधान अन्यायपूर्ण रहेको भन्दै रिट दायर गरेका थिए।