नेपालको टी-२० सिरिजमा पहिलो जित: ओमन १३९ रनमा समेटियो

काठमाडौँ: नेपाल, क्यानडा, र ओमन सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपालले ओमनलाई ३७ रनले पराजित गरेको छ। आइतबार राति क्यानडाको किङ्ग सिटी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै २० ओभरमा १७६ रनको चुनौतीपूर्ण स्कोर बनायो।

१७७ रनको लक्ष्य पछ्याउने क्रममा ओमन १९.१ ओभरमै १३९ रनमा समेटियो। नेपालका अलराउण्डर गुलशन झाले उत्कृष्ट प्रदर्शन गरे। उनले ब्याटिङमा ३ छक्का र ३ चौकाको मद्दतले अविजित ४० रन बनाए भने बलिङमा २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिएका थिए।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३६ रन दिएर ३ विकेट लिए। सन्दीप लामिछाने, रिजन ढकाल, र दिपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए।

यस खेलसँगै नेपालले लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा जित हासिल गरेको हो। पछिल्लो पटक नेपालले २०२४ को अप्रिलमा एसिसी टी–२० प्रिमियर कपको खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो। त्यसपछि नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेलमा जित हासिल गर्न सकेको थिएन।

नेपालले क्यानडामा आइसिसी विश्वकप लिग–२ सिरिजपछि टी–२० सिरिज खेलेको हो। सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। १२४ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा नेपाल १९ ओभरमै १०९ रनमा अलआउट भएको थियो।

यसअघि, आइसिसी लिग–२ मा क्यानडा र ओमनसँगका तीन खेल गुमाएको नेपालले ओमनसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि एक अंक पाएको थियो। कुल ६ टी–२० खेलमा नेपाल र ओमनले समान तीन जित र तीन हारको नतिजा निकालेका छन्।

 

प्रतिक्रिया