काठमाडौं - स्थानियहरुको लागि छुट्याइएको शेयरमा खासै आकर्षण नरहेको पछिल्लो समय शेयर बिक्री खुल्ला गरेको पिपुल पावर हाइड्रोले देखाएको छ ।
पिपुल्स पावर लिमिटेडले असार ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन ५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये इलाम जिल्ला इलाम नगरपालिका वडा नं. १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर बाँडफाँट गरिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।