काठमाडौ - इन्टरनेट सेवा प्रदायकहरूले आगामी सातादेखि देशभर इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएका छन् । सेवा प्रदायकले विज्ञप्ति नै निकालेर अर्को सातादेखि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल र सिफी जस्ता कम्पनीलाई विदेशी रकममा भुक्तानी सिफारिस पूर्ण रूपमा बन्द गरेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘जसकारण विगत ६ महिनादेखि भुक्तानी रोकिएको छ ।’ लामो समयदेखि भुक्तानी रोकिएकाले आगामी सातादेखि इन्टरनेट सेवा रोक्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्ने बताइएको छ ।
मन्त्रालयले विदेशी मुद्रामा भारतीय इन्टरनेट प्रोभाइडरलाई भुक्तानी रोकेको विरोधमा यही वैशाख १९ गते मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा सहभागि नहुने इन्टरनेट व्यवसायीले घोषणा गरेका छन् । यही वैशाख १४ गते बसेको कार्यसमिति बैठकले दिवसलाई पूर्ण रूपमा बहिस्कार गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
इन्टरनेट सर्भिस प्रोभाइडर नेपालका अध्यक्ष सुधीर पराजुलीले सूचना प्रविधि दिवसमा सहभागी नबन्ने, प्रायोजक र आयोजक नबन्ने र कुनै पनि सहयोग नगर्ने निर्णय गरेको जानकारी दिए । सरकारले इन्टरनेट व्यवसायको समस्या समाधान गर्नतर्फ ध्यान नदिँदा थप समस्या भइरहेको अध्यक्ष पराजुलीको भनाइ छ ।
आगामी सातादेखि इन्टरनेटसहित टिभी सेवा प्रदायकहरूको सेवा पनि रोकिन सक्ने बताइएको छ ।
विदेशी मुद्रा सिफारिस नगरी सहजीकरण नगरेकाले टिभी सेवा पनि बन्द हुने स्थिति आउन सक्ने एसोसिएसनले बताएको छ । यसका साथै, विद्युतीय पोल प्रयोग तथा सोको भुक्तानी एवं उपयोग सम्बन्धमा सिफारिस गर्न गठित समितिले प्रतिवेदन तयार पारेको छ।
जसको कार्यान्वयन नहुँदा इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएको तार काट्ने, संरचना एवं पूर्वाधार प्रभावित बनाउने लगायतका काम भइरहेको समेत बताइएको छ । यीसहित अन्य कारणले यस वर्षको सूचना तथा प्रविधि दिवसमा सहभागी नबन्ने निर्णय गरेको पराजुलीले जानकारी दिए ।