बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति १८ अर्बले वृद्धि

काठमाडौं । पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) १८ अर्ब रुपैयाँले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल गैरबैंकिङ सम्पत्ति ४१ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा गैरबैंकिङ सम्पत्ति २३ अर्ब ७८ करोड रुपैयाँ मात्र थियो।

बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति वार्षिक रुपमा ७५.५० प्रतिशतले वृद्धि भएको हो। वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै गैरबैंकिङ सम्पत्ति उल्लेखनीय रूपमा बढेको देखिन्छ। १ वर्षमा बैंक–वित्तीय संस्थाहरुको औसत निष्क्रिय कर्जा १.१९ प्रतिशतले वृद्धि भई ४.९२ प्रतिशत पुगेको छ।

गैरबैंकिङ सम्पत्तिको तुलनात्मक विवरण:

बैंक तथा वित्तीय संस्था २०७९ माघ (रु. अर्ब) २०८० माघ (रु. अर्ब) वृद्धि (%)
वाणिज्य बैंक १९.९१ ३५.८२ ७९.८९
विकास बैंक २.५२ ३.५८ ४२.१२
फाइनान्स कम्पनी १.३५ २.३३ ७३.०९
कुल २३.७८ ४१.७४ ७५.५०

बैंकहरुमा गैरबैंकिङ सम्पत्ति बढ्दै जानु उनीहरुको नाफामा असर गर्ने मुख्य कारक बन्ने देखिन्छ। यसैबीच, १७ वटा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति बढेको छ भने २ वटा बैंकको घटेको छ। स्टान्डर्ड चार्टर्ड बैंकको भने गैरबैंकिङ सम्पत्ति शून्य रहेको छ।

सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकको रहेको छ, जसको यस्तो सम्पत्ति १६८.६८ प्रतिशतले वृद्धि भई ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। तथापि, सोही बैंक नेपालमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंकसमेत रहेको छ।

वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरुले गैरबैंकिङ सम्पत्तिलाई सकेसम्म चाँडो बिक्री गरी लगानी योग्य पूँजी बढाउने उपाय अपनाउनु जरुरी देखिन्छ।

प्रतिक्रिया