सिवाईसी लघुवित्तको आइपीओ निस्कासन प्रकृया अघि बढ्यो,कति पायो रेटिङ ?

काठमाडौं - काठमाडौं–सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि करिब ४ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ ।

 

यसै बीच कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले 'डबल बी माइनस' रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको पनि याे रेटिङले संकेत गर्दछ ।

 

संस्थाले प्रति कित्ता अंकित मूल्य एक सय रुपैयाँका दरको ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त समेत गरिसकेको छ ।

 

सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

 

बागलुङमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैकको स्वीकृति लिई प्राप्ति गरेको छ ।

 

लघुवित्त संस्थाका अनुसार प्राप्तिपछि संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ छ ।

 

वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयमार्फत ४७ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आबद्ध गरिसकेको जनाएको छ ।

प्रतिक्रिया