काठमाडौं — रोपाइँको सिजन सुरु भएसँगै रासायनिक मलको आवश्यकता पर्ने किसानलाई यस वर्ष पनि समस्या भएको छ। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग गरी ८८ हजार ३ सय टन रासायनिक मल मौज्दात रहेको भए पनि धेरैजसो किसानले सहजै पाउन सकेका छैनन्।
सरकारले रासायनिक मलमा अनुदान दिँदै आएको छ। तर, वितरण प्रणालीमा देखिएको खोटले गर्दा मल समयमै र सहजै किसानसम्म पुग्न सकेको छैन। कतिपय स्थानमा त कृषि सामग्रीले तोकेकोभन्दा बढी मूल्य लिएर मल बिक्री भइरहेको गुनासो पनि आएको छ।
कृषि मन्त्रालयले यो समस्या समाधान गर्न मल विक्रेता व्यवस्था कार्यविधि परिमार्जन गर्ने प्रक्रिया थालेको छ।