नागढुंगामा पहिरोले अवरूद्ध बनेको राजमार्ग पुनः सञ्चालनमा

काठमाडाैं - काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा लेदो मिसिएको पहिरो खसेर अवरुद्ध भएको त्रिभुवन राजमार्ग मंगलबार बिहानदेखि पुनः दुईतर्फी सञ्चालनमा आएको छ। धुनिबेँसी नगरपालिका-९ स्थित खत्रीपौवामा सोमबार साँझ ६ बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो।

प्रहरी निरीक्षक हेम थपलियाका अनुसार, दुईवटा एक्सकाभेटर र टिपरको सहायताले राति ३ बजे पहिरो पन्छाएपछि सवारी साधन दुईतर्फी सञ्चालनमा आएका छन्। पहिरोका कारण धादिङ र काठमाडौं दुवैतर्फ लामो जाम भएको थियो, जसले गर्दा काठमाडौंतर्फको जाम महाशक्ति क्षेत्रसम्म पुगेको थियो भने धादिङतर्फको जाम सिक्रे खोलासम्म फैलिएको थियो।

पहिरो रोकिएपछि राति १० बजेबाट पन्छाउने काम सुरू गरिएको थियो, जसमा झन्डै पाँच घन्टा लागेको थियो। यद्यपि राजमार्ग खुलेपछि पनि सवारीको चाप केही बढी रहेको जानकारी दिइएको छ।

प्रतिक्रिया