चितवनको गैरीबारीमा हुने निमा स्मृति फुटबल प्रतियोगितामा १५ टोलीको सहभागिता रहने

कमल राज ढकाल / माघ ३ - चितवनको कालिका नगरपालिकाको गैरीबारीमा भोलि बुधबारदेखि निमा स्मृति खुला नक आउट फुटबल प्रतियोगिता हुने भएको हो।

माओवादी विद्रोहमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

१९ गतेसम्म हुने प्रतियोगिताका खेलहरु कालिका–८ स्थित गैरिबारी खेल मैदानमा हुनेछ । प्रतियोगितामा चितवन र छिमेकी जिल्लाबाट १५ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा निमा र आयाम युवा समाज भिड्नेछन् । खेल दिउँसो २ बजे हुनेछ ।

त्यसअघि बागमती प्रदेशका पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम दाहाल (अविनास) ले प्रतियोगिताको उद्घाटन गर्ने अनेरास्ववियू (क्रान्तिकारी) कालिका नगर समिति अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको मगरले बताए । प्रतियोगिता सम्पन्न गर्न चार लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया