काठमाडौं – नेपालले यू-१९ महिला टी-२० विश्वकपका लागि छनोट गर्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ। अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गरेर नेपालले जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो।
युएईले दिएको ८४ रनको लक्ष्यलाई पछ्याउँदै नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर सहजै जित हात पार्यो। यसअघि टस हारेर पहिला बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनमै रोकेको थियो।
यू-१९ महिला टी-२० विश्वकपमा १६ देश सहभागी हुँदैछन्। आयोजक मलेसिया र अघिल्लो विश्वकप खेलेका १० टिमसँगै पाँच क्षेत्रीय छनौटबाट आएका देशहरूले यस प्रतियोगितामा भाग लिनेछन्। नेपाल, नाइजेरिया, सामोआ, स्कटल्याण्ड, र अमेरिका क्षेत्रीय छनौटबाट आएका हुन्। नेपाल समूह डी मा पर्दा अन्य टोलीहरूमा अस्ट्रेलिया, बङ्गलादेश, र स्कटल्याण्ड रहेका छन्।
यसअघि २०२३ मा भएको पहिलो यू-१९ महिला टी-२० विश्वकपमा भारतले उपाधि जितेको थियो, जहाँ नेपाल तेस्रो स्थानमा रहँदै एसियाबाट छनोट हुन सकेको थिएन। यस पटक भने नेपालले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान पक्का गरेको छ।