काठमाडौं–सरकारलार्ई सूर्य नेपाल प्राइभेट लिमिटेडले एक वर्षमा २८ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले सन् २०२३ मा २८ अर्ब ९९ करोड रुपैयाँ कारोबार गरेको हो । कम्पनीले सन् २०२२ मा २७ अर्ब १ करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो । कम्पनीको कारोबार सन् २०२२ को तुलनामा २०२३ मा १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ अर्थात् ७.८१ प्रतिशत बढी हो । त्यसैगरी, कम्पनीले सन् २०२१ मा २४ अर्ब ४९ करोड २० लाख रुपैयाँ व्यापार गरेको थियो ।सूर्य नेपालले गत आर्थिक वर्ष २०८०÷ण्८१ मा आयकरतर्फ ५ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ५ अर्ब ४१ करोड ५५ लाख गरी कुल ११ अर्ब ३९ करोड ९० लाख राजस्व दाखिला गरेको छ । यद्यपी असार महिनाको (भ्याट) विवरण बुझाउने मिति साउन २५ गतेसम्म हुने भएकाले भ्याट रकम अझै बढ्न सक्छ ।
सूर्य नेपाल पछिल्लो वर्षहरुमा निरन्तर धेरै कर दाखिला गर्नेको पहिलो नम्बरमा पर्दै आएको छ । कम्पनीले आर्थिक वर्ष २०७९÷०८० मा ११ अर्ब ६१ करोड राजस्व दाखिला गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७८÷०७९ मा १० अर्ब ७२ करोड र २०७७÷०७८ मा ९ अर्ब ३४ करोड कर दाखिला गरेको थियो । कम्पनीको नेपालको चुरोट बजारमा एकाधिकार जस्तै छ । विभिन्न प्रकारका चुरोट अगरबत्ती सलाई बिक्री गर्ने कम्पनीमा ५९ प्रतिशत लगानी आइटीसी लिमिटेड इन्डियाको रहेको छ । यस्तै, ३९ प्रतिशत लगानी नेपालीको छ भने २ प्रतिशत बेलायती कम्पनीको छ ।
कम्पनीको व्यापार क्रमश बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । कम्पनीले ५ अर्ब ७५ करोड बैंक कर्जाका लागि ‘केयर एनपी ए १ प्लस’ रेटिङ पुनः पुष्टि गराएको छ । कम्पनीले सूर्य लिजेन्ड, सूर्य लक्जरी किंस, सूर्य २४ क्यारेट, शिखर फिल्टर किङ्ग्स, शिखर आइस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली, चौतारी ब्रान्डका चुरोट र अगरबत्ती पनि उत्पादन तथा बिक्री गर्दै आएको छ ।