हवाई भाडा नियन्त्रणमा पाँच बुँदे सहमति

काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरण र सरोकारवाला पक्षबीच हवाई भाडा नियन्त्रण गर्नेबारे पाँच बुँदे सहमति भएको छ। सहमति अनुसार एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाई टिकट बिक्री गर्न दिने एकमुष्ट अधिकार (टीबीए) खारेज गरिएको छ। त्रिभुवन विमानस्थलको ३० प्रतिशत उडान कटौती भएको बहानामा ट्राभल एजेन्सी र एयरलाइन्सबीचको मिलेमतोमा अन्तर्राष्ट्रिय उडानको टिकट दर पाँच गुणासम्म बढाइएको गुनासो उठेपछि यो निर्णय गरिएको हो।

शनिबार बसेको बैठकमा एयरलाइन्सले द्विपक्षीय सम्झौताको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरी हवाई भाडा निर्धारण गर्ने सहमति भएको छ। बैठकले अब टिकटको मूल्यसूची तोक्ने, सार्वजनिक गर्ने र ट्राभल एजेन्सीसँग निश्चित परिमाणमा मात्रै टिकट बेच्न सक्ने निर्णय गरेको छ। हवाई भाडादर नियन्त्रणको जिम्मेवारी एयरलाइन्स सञ्चालककै हुने निर्णय पनि बैठकमा गरिएको छ।

हवाई भाडासम्बन्धी गुनासो सुन्ने जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत विष्णुप्रसाद पौडेललाई दिइएको छ। बैठकमा क्यानका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधि सहभागीथिए।

प्रतिक्रिया