नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार, राष्ट्रपति भवनमा भएको बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी थिए।
८४ वर्षीय युनुसले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए। गरिबी विरुद्धको संघर्षका लागि विश्वप्रसिद्ध युनुसलाई ‘गरिबहरूको बैंक’बाट चिनिएको छ। आन्दोलनकारी विद्यार्थीहरूले उनलाई अन्तरिम सरकारको प्रमुखको रूपमा प्रस्ताव गरेका थिए।
युनुस पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी मानिन्छन्। गत जनवरीमा श्रम कानुन उल्लंघनको आरोपमा उनलाई ६ महिना जेल सजाय सुनाइएको थियो, यद्यपि उनले जेलमा समय बिताउनुपरेको थिएन। हाल फ्रान्समा उपचार गराइरहेका युनुसले स्वदेश फर्किने बताएका छन्।