काठमाडौं उपत्यकामा लागु गरिएको जोरबिजोर प्रणालीबारे चर्को आलोचना भइरहेका बेला काठमाडौंका सीडीओ र यातायात व्यवसायीबीच फोनवार्ता भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजाल र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालबीच फोन वार्ता भएको हो ।
महासचिव नेपाल भन्छन्, ‘‘काठमाडौंका सीडीओसँग फोन वार्ता भएको छ । जनमानसमा भिडभाड बढी भयो । यसलाई पुनविर्चार गर्नुपर्ने हो कि भन्ने कुरा भयो । हामीले पनि कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को निर्देशन लिनुपर्छ भन्नुभएको छ ।”
आज बस्ने सीडीओ बैठकअघि जोरबिजोर प्रणालीबारे छलफलमा यातायात व्यवसायीलाई नबोलाइएको महासचिव नेपालले बताए । ‘‘उहाँहरुको बैठकले केही निर्णय गर्ला । तर, हामीलाई छलफलमा बोलाइएको छैन,” महासचिव नेपालले भने ।
उपत्यकामा जारी जोरबिजोर प्रणालीबारे पछिल्लो समय चर्को आलोचना हुँदै आएको छ । आजको मुख्य ऐजेन्डामा जोरबिजोर प्रणालीलाई राखेर छलफल गरिने सीडीओहरुले बताएका छन् ।