काठमाडौं–निजी क्षेत्रबाट सञ्चालित नर्भिक इन्टरनेशनल अस्पताल पव्लिक कम्पनीमा रुपान्तरण हुँदैछ । पव्लिक कम्पनी बनाएर आईपीओ निष्कासन गर्ने सञ्चालकको योजना छ । यस अस्पतालको संचालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह हुन् ।
आईपीओ निष्कासन गर्ने योजना बनाएको यस अस्पतालले आफ्ना सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।
नर्भिक अस्पतालको हालको चुक्तापूँजी १५ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, एजीएमले हाल ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर १०० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७÷७८ मा ८ करोड ५६ लाख खूद मुनाफा आर्जन गरेको थियो । सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ ।
अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेला समेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको जानकारी दिएका थिए । पब्लिक कम्पनीमा रुपान्तरण भैसकेको छ । नर्भिक अस्पतालको क्षमता काठमाडौंमा बढाउने र उपत्यकाबाहिर समेत बिस्तार गर्ने योजना सहित कम्पनीले पुँजीवृद्धि गर्न लागेको छ । त्यसकसा लागि सर्वसाधारण लगानीकर्तालाई समेत प्राथमिक साधारण सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।
नर्भिकको यो योजना सफल भएमा सर्वसाधारणमा सेयर जारी गर्ने नर्भिक मेडिकल क्षेत्रको पहिलो कम्पनी बन्ने छ । कम्पनीले पुँजीवृद्धि गरी काठमाडौमा थप १ सय सैया क्षमता बढाउने अस्पतालको योजना छ । साथै सुनसरीको दुहवी र भैरहवामा १ सय सैयाको अस्पताल बनाउने योजना नर्भिकको छ । ती अस्पतालमा पुरै लगानी नर्भिकको नभई सर्वसाधारण र अन्य लगानीकर्तालाई समेत सहभागी गराउने योजना कम्पनीले लिएको छ ।