भीमोदय नमुना माविको स्वर्णमहोत्सव : ५०७ जना सम्मानित

कालिका । चितवनको कालिका नगरपालिका वडा नं–५ पदमपुरस्थित भीमोदय नमुना माध्यमिक विद्यालयमा जारी स्वर्णमहोत्सव कार्यक्रमअन्तर्गत बुधबार विद्यालयमा विभिन्न समयमा योगदान दिने ५०७ जनालाई सम्मान गरिएको छ ।

 

विद्यालयले स्वर्णमहोत्सवको पाँचौ दिन बुधबार पूर्वअक्षयकोष दाता सात जना, पूर्वशिक्षक १०६ जना, पूर्वविद्यालय व्यवस्थापन समिति सदस्य ३७ जना, पूर्व विद्यालय कर्मचारी सात जना र २५ हजार रुपैयाँसम्म सहयोग प्रदान गर्ने ३५० जना गरी ५०७ जनालाई सम्मान गरेको हो ।

स्थापनाको ५३ औँ वर्ष पुगेको अवसरमा आयोजित स्वर्णमहोत्सव कार्यक्रम यही पौष ६ गतेदेखि सुरू भएको हो ।

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्वर्णमहोत्सव मूल आयोजक समिति संयोजक एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत श्रेष्ठ, प्रधानाध्यापक इन्द्रनाथ पौडेल, वडा नं–५ का वडाध्यक्ष दीपकबहादुर भट्टराईलगायतले सम्मानित हुने व्यक्तिहरुलाई खादा लगाएर सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले सरकारले लगानी गरेबमोजिम सामुदायिक विद्यालयले नतिजा निकाल्न नसक्दा चिन्ता थपिएको बताए ।

 

शिक्षक कर्मचारीको सेवासुविधा र भौतिक निर्माणको लागि सरकारले ठूलो लगानी गरेको भए तापनि संस्थागत विद्यालयसँगको प्रतिस्पर्धामा सामुदायिक विद्यालय निकैपछाडि रहेको उनले बताए ।

 

कार्यक्रममा बोल्दै उनले कालिकाको नगर अस्पताल स्तरोन्नतिको लागि प्रदेश सरकारले केहि रकम विनियोजन गरेको र उपकरण खरिदमा पनि सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।

कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन भएको थियो । स्वर्णमहोत्सव कार्यक्रम यही पौष १३ गतेसम्म जारी रहने छ । बिहीबार ८ः०० बजे प्रभातफेरी, पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रम, शैक्षिक बहसलगायतका कार्यक्रम रहनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय