मकवानपुरको मनहरी गाउँपालिका ६ मा एउटा बाघ भैंसीसँग जुधेर मरेको छ। मनहरी ६ प्रतापुरमा बस्ने बलबहादुर राईको गोठमा बाघले भैंसीमाथि आक्रमण गरेको थियो। उक्त आक्रमणबाट एउटा भैंसी घाइते भएको छ भने बाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भन्डारीले जानकारी दिए।
भन्डारीका अनुसार, बाघ बुढो भएकोले भैंसीसँग जुध्ने क्रममा मृत्यु भएको आशंका गरिएको छ। घटना थाहा पाएपछि इलाका प्रहरी कार्यालय मनहरी र पर्सा राष्ट्रिय निकुञ्जको टोली घटनास्थलमा पुगेका थिए। निकुञ्जको टोलीले बाघ बुढो भएकाले भैंसीले हानेपछि मृत्यु भएको बताएको छ।
आज बिहान चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको सेक्टर सौराह ब्यारेकबाट आएको नेपाली सेनाको टोलीले मृत बाघलाई जिम्मा लिएर गएको छ।