काठमाडौं–नक्कली लालपूर्जा बनाएर ठगी गरेको आरोपमा कुमारी बैंकका कर्मचारी सहित चार जना पक्राउ परेका छन् । गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रूपैयाँ किर्ते कागजात बनाएको अभियोगमा कुमारी बैंक पर्साका कर्मचारीसहित चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन् ।
गौतम र महर्जन बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक हुन्। उनीहरूमध्ये तीन जनालाई केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको थियो । चौरसियालाई भने प्रहरीले मंगलबार पक्राउ गरेको हो । अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको कीर्ते कागजात बनाएर १९ करोड ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरे ।
गौतम र महर्जनले बिरुवा भूमि वनकाली कम्पनीका नाममा नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड निकालेको फेला परेको सिंहले बताए । बिरुवा भूमि वनकाली योगेश्वर अमात्य र उनकी श्रीमती सञ्चालक रहेको कम्पनी हो । कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा उक्त जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नक्कली कागजात बनाएर ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरिएको पाइएको छ । केन्द्रीय बैंकले अनुमति दिएका आधारमा कुमारी न्यूरोड शाखाबाट रकम निकालिएको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।