फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौँ - भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य फेरि बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले खरिद गर्ने प्रशोधित तेलको मूल्य समेत बढेको निगमले जनाएको छ ।

आईओसीले सोमबार पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढेको निगमका प्रवक्ता बिनितमणी उपाध्यायले बताए । उनका अनुसार डिजेलमा ४ रुपैयाँ तथा हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ । ‘निगमले आईओसीसँग खरिद गर्ने प्रशोधित तेलको मूल्य वृद्धिसँगै निगमको नोक्सानी थप बढेको छ,’ उपाध्यायले भने ।

उनका अनुसार पछिल्लो ५ महिनाको अवधिमा आईओसीबाट प्राप्त हुने मूल्य सूची उच्च दरले बढेको छ । ५ महिनाको अवधिमै पेट्रोलमा प्रतिलिटर ४५ रुपैयाँ, डिजेलमा ६२ रुपैयाँ, मट्टितेलमा ४०, हवाई इन्धनमा ५७ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ सय ८० रुपैयाँ बढेको उनले बताए । रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रय बजारमा इन्धनको मूल्य उच्च दरले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ११ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया