जनैपूर्णिमा र रक्षा बन्धन आज, विधिपूर्वक मनाइँदै

काठमाण्डौं — आज जनैपूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा नेपालभरि विधिपूर्वक विभिन्न धार्मिक अनुष्ठानका साथ पर्व मनाइँदै छ।

प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा सनातन वैदिक धर्मावलम्बीहरूले विशेष महत्वका साथ जनैपूर्णिमा मनाउने परम्परा रहेको छ।जनैपूर्णिमा पर्वको अवसरमा सनातन धर्मावलम्बीहरूले पूरानो जनै फेरेर नयाँ जनै धारण गर्दछन्। जनैको छ शिखालाई ज्ञान, कर्म, उपासना तथा ब्रह्मा, विष्णु, र महेश्वरको प्रतीक मानिन्छ।

यस पर्वमा आत्मा र शरीरको शुद्धीकरणका लागि ब्राह्मण पुरोहितले विधिपूर्वक नाडीमा रक्षा बन्धन बाँधिदिने प्रचलन रहेको छ।साथै, रक्षा बन्धनको अवसरमा विशेषगरी तराई-मधेसका जिल्लाहरूमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन छ। पछिल्ला वर्षमा यस प्रचलनले पहाडी क्षेत्रमा पनि महत्त्वपूर्ण स्थान पाएको छ।श्रावणी पूर्णिमालाई वेदजयन्तीका रूपमा पनि चिनिन्छ।

यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य)बाट वेद प्राप्त गरेको धार्मिक विश्वास छ। यस कारण, हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी विशेष रूपमा मनाउने गर्दछन्।यो पर्वले सनातन धर्मका धार्मिक, सांस्कृतिक, र सामाजिक पक्षलाई उजागर गर्दै सम्पूर्ण समाजमा एकता, सौहार्दता, र परस्पर सहयोगको भावना सुदृढ गर्ने काम गर्दछ।

प्रतिक्रिया