काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ डिम्म्याट खातामा आएको छ । कम्पनीले GVL कारोबार संकेत पाएको छ ।
नेप्से सँगको सम्झौता पछि कम्पनीको शेयर द्रोसो बजारमा कारोबार हुने छ । कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ६ हजार ५१६ आवेदकको २ करोड ४२ लाख ७७ हजार कित्ता शेयरका लागि आवेदन स्वीकृत भएको छ भने ५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ।
स्वीकृत आवेदन मध्ये २ लाख ८७ हजार ५०० जनालाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट भएको थियो ।
कम्पनीले चैत ८ गते मंगलबारदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २८ लाख ७५ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई दिइएको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानीयलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्यरेञ्ज तोक्ने व्यवस्था छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७/७८ सम्म रू. ९१ दशमलव ८६ रहेको छ । यस आधारमा नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता रू. ९१ दशमलव ८६ देखि अधिकतम रू. २७५ दशमलव ९८ सम्मको मूल्यरेञ्ज पाउनेछ ।