काठमाडौँ–नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । मूल्य बढाएसँगै पेट्रोलको मूल्य एक सय ५० रुपैयाँ लिटर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि सँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यले नयाँ रेकर्ड राखेको छ । निगमले विहीवार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो ।
रुसले युक्रेनमाथि आक्रमण गरे पछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले नयाँ रेकर्ड बनाएसँगै त्यसको असर नेपालमा पनि परेको हो । इन्डियन आयल कर्पोरेसनबाट मूल्य वृद्धि भएर आए पछि निगमले बिहीवार रातीबाट लागू हुने गरी मूल्य बढाएको हो ।
मूल्य वृद्धिसँगै डिजेल र मट्टितेलको मूल्य एक सय ३३ रुपैयाँ पुगेको छ । यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ सय डलर बढेको वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
अन्तर्राष्ट्रय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रतिब्यारेल १ सय १७ डलरसम्म पुगेको थियो । मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमै दुई अर्ब ५० करोड रुपैयाँ घाटा रहेको जनाएको छ ।