सांकेतिक तस्विर
सिन्धुली- सिन्धुलीमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। दुर्घटना बिहीबार बिहान सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारी नजिक बीपी राजमार्गमा भएको हो।
मृत्यु हुनेहरूमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदयबहादुर मस्राङ्गी, र ३५ वर्षीय पवन मस्राङ्गी रहेका छन्। उनीहरूको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा बिहान १०:३० बजे मृत्यु भएको हो।
बा २० च ८२८३ नम्बरको जिप गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गर्दा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा ११ जना घाइते भएका छन्, जसमध्ये जिप चालक टीकाजंग राईको अवस्था गम्भीर रहेको छ।
घाइतेहरूलाई जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ भने गम्भीर अवस्थाका चार जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।