काठमाडौं - महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले तीन दिनभित्रमा यान्त्रिक कुचो ब्रुमर सञ्चालनमा ल्याइने बताएका छन् ।
प्रमुख शाहको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको प्रश्नको जवाफ दिँदै उनले ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन् । चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए ।
विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमबार बैठक बसेर समन्वय बढाइने बताउँदै प्रमुख शाहले महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयबीच समन्वय बलियो बनाइने बताए । शाहले भने, “साझा प्रयास र सहभागिताले लक्ष्य हासिल हुने हो । यो सबैसँगै हुनुपर्छ ।”
उपप्रमुख सुनीता डङ्गोलले पूर्वतयारीसहित गरिएको बैठक उपलब्धिमूलक भएको बताइन् । साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने उनको भनाइ छ ।
बैठकले नगरसभाको ११औँ अधिवेशन आगामी असार ५ गते गर्ने निर्णय गरेको छ । बैठकले उपप्रमुख डङ्गोलको अध्यक्षतामा स्थानीय राजश्व परामर्श समिति गठन गरेको छ ।
बैठकमा प्रमुख साहले पेस गर्नुभएको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकको नाम अनुमोदन भएको छ । बैठकमा छलफल गर्दै कार्यपालिका सदस्यहरुले समुदाय स्तरका समस्या, महानगरसँग वडाले गरेका अपेक्षा, आफूले गरेका प्रयास र समग्र महानगरको समृद्धिका विषयमा धारणा राखेका थिए ।