बैंकिङ प्रणालीमा तरलता अधिक, कर्जा लगानी सीमित

नेपालको बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि आइतबार बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ८४ अर्ब १० करोड रुपैयाँ स्थायी निक्षेप सुविधा (एसडीएफ) र निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा जम्मा गरेका छन्। यसमध्ये १ खर्ब २२ अर्ब ५ करोड एसडीएफमार्फत र ६२ अर्ब ५ करोड निक्षेप संकलन उपकरणमार्फत जम्मा गरिएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूले अघिल्लो पटकको तुलनामा २१ अर्ब ७० करोड रुपैयाँ बढी एसडीएफमा राखेका छन्। गत बिहीबार जम्मा गरिएको १ खर्ब ३५ करोड एसडीएफ परिपक्व भएपछि आइतबार पुनः ठूलो रकम राष्ट्र बैंकमा जम्मा भएको हो। यो रकम पुस १६ गते परिपक्व हुनेछ।

ब्याजदर कोरिडोर प्रभावकारी बनाउन राष्ट्र बैंकले गत फागुनदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई अधिक तरलता केन्द्रीय बैंकमा निक्षेप गर्न पाउने सुविधा सुरु गरेको थियो। तर, कर्जाको माग नबढेकाले बैंकहरू यस्तो सुविधा प्रयोग गर्दै अल्पकालीन आम्दानीमा केन्द्रित भएको राष्ट्र बैंकले जनाएको छ। एसडीएफमा लगानी गर्दा बैंकहरूले ३ प्रतिशत ब्याज प्राप्त गर्छन्।

चालु आर्थिक वर्षको सुरुदेखि पुस १४ गतेसम्म बैंकहरूले १२० खर्ब ३५ अर्ब ६० करोडको एसडीएफ सुविधा प्रयोग गरेका छन्। यस अवधिमा बैंकहरूले ६६ पटकमा यो रकम राष्ट्र बैंकमा जम्मा गरेका छन्।

यस्तै, निक्षेप संकलन उपकरणमार्फत ३५ पटकमा १३ खर्ब ११ अर्ब २५ करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा गरिएको छ। हालसम्म २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ परिपक्व हुन बाँकी छ। आइतबार मात्रै ७० अर्बको निक्षेप संकलन उपकरण जारी गरिएकोमा १६ बैंक तथा वित्तीय संस्थाले ६२ अर्ब ५ करोड जम्मा गरेका छन्, जसको औसत ब्याजदर २.९९ प्रतिशत रहेको छ।

बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भए पनि अहिले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.७९ प्रतिशत छ। यो हिसाबले बैंकहरूसँग झन्डै ६ खर्ब ५३ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको अनुमान गरिएको छ।

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि पुगेमा तरलता बजारमा पठाउने र ३ प्रतिशतभन्दा तल आएमा बजारबाट तरलता खिच्ने नीति अपनाएको छ। यसले तरलताको व्यवस्थापनमा सन्तुलन कायम गर्न मद्दत पुर्‍याएको छ।

प्रतिक्रिया