काठमाडौं । मनकामना दर्शक कम्पनीले आफ्नो लगानी विस्तार गर्ने भएको छ । कम्पनीले ३५ करोड १८ लाख भन्दा धेरैको लगानीमा रिसोर्ट खोल्ने भएको छ ।
कुल ४० कोठा क्षमताको हुने उक्त रिसोर्ट लग्जरी सेगमेन्टको हुने उनको भनाइ छ। अबको डेढ वर्षभित्र निर्माण सम्पन्न गरेर संचालनमा ल्याइसक्ने रिसोर्ट नौ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ।
मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय प्रवर्द्धन गर्ने उद्धेश्यले रिसोर्ट संचालनमा ल्याउन लागिएको कम्पनीले जानकारी दिएको छ । रिसोर्ट संचालनमा आएसँगै स्थानीय रोजगारी सिर्जना र स्तरीय पर्यटकको आवगमनमा वृद्धि हुने विश्वास लिइएको छ ।
रिसोर्टबाहेक हाल संचालनमा रहेको मनकामना केबलकारको पनि व्यापक स्तरोन्नती गर्न लागिएको बताइएको छ। स्तरोन्नतीमा मात्र करिब ३० करोड रुपैयाँ खर्च हुने कम्पनीको भनाइ छ ।
केबलबार स्तरोन्नती र नयाँ रिसोर्ट निर्माणमा गरी कुल ६५ करोड रुपैयाँ खर्च गर्ने योजना चितवन को-ईले बनाएको छ। कम्पनीले भविष्यमा प्राथमिक शेयर समेत निष्कासनको तयारीमा रहेको बुझिएको छ ।