सवारी दुर्घटनामा डा. श्रृष्टी तिवारीको भाग्य फुट्यो,आफ्नै काखमा अस्ताए परिवार

काठमाडाैँ । डा. श्रृष्टी तिवारी नेपाल क्यान्सर अस्पताल हरिसिद्धीकाे विशेषज्ञ चिकित्सक हुन् । उनका श्रीमान डा.महेश कुमार गौतम बच्चाको आस्थमा र एलर्जीका विशेषज्ञ डाक्टर । महेश विभिन्न अस्पतालका अलवा लाजिम्पाटमा आफ्नै क्लिनिक पनि चलाउँथे । निकै व्यस्त डा.दम्पतीलाई आफ्ना ६ वर्षकी छोरी र ४ वर्षका छोराका लागि पनि खटाएरै समय निकाल्नुपर्थ्याे ।

जाडोका कारण बच्चाको स्कुल बिदा भए पनि उनीहरुलाई घुमाउन डा. दम्पतीलाई केही सातादेखि समय मिलिरहेको थिएन । तर, शुक्रबार साँझ उनीहरुले चित्लाङ जाने निधो गरे । शनिबारको छुट्टीमा छोरी र छोरा घुमाउन डा. दम्पतीले बनाएको योजनामा डा. श्रृष्टीका बाबु ओमकार तिवारी र आमा कल्पना तिवारी पनि थपिइन् । 

डा.महेशले सासु, ससुरा, श्रीमती र दुई छोराछोरी भएको फोर्डको इको स्पोर्ट गाडी हाँकेर शनिबार बिहान साढे ११ बजे मैतिदेवीबाट निस्किए । थानकोटबाट चन्द्रागिरि पहाड चढेर चित्लाङ ओर्लने र केहीबेर घुमफिर गरेर साँझ घर फर्किने उनीहरुको योजना थियो । तर, दिउँसो साढे एक बजे उनीहरु सवार कारलाई चन्द्रागिरिको सेतो भिरले निल्यो । 

शनिबार दिउँसो काठमाडौँबाट चित्लाङतर्फ गइरहेको प्रदेश–३–०१–०२३ च ६९८५ नम्बरको कार सडकबाट ६ सय मिटर तल खस्दा ५ जनाको ज्यान गयो । दुर्घटनामा डा. श्रृष्टीका बाबु ओमकार तिवारी, आमा कल्पना गौतम र श्रीमान् महेश कुमार गौतम, ६ वर्षीय छोरी स्मारिका गौतम र ४ वर्षिय छोरा श्रीयन्स गौतमको मृत्यु भयो । 

सडककै कारण दुर्घटना

दुर्घटनालगत्तै उद्धारका लागि घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय चित्लाङका प्रहरी वरिष्ठ नायव निरिक्षक विकास कार्की शनिबारको दुर्घटनाको कारण सडकको दूरावस्था भएको बताउँछन् । उनका अनुसार ठाडो उकालो र ओरालो, तथा दर्जनबढी घुम्ती र भिर भएको थानकोट–चित्लाङ सडकमा पछिल्लो केही वर्षदेखि बिग्रिएको ग्राभेलका कारण यात्रा गर्न निकै कठिन छ । 

‘धुलोले छोपेको खाल्डो, ग्राभेल उप्किएर सडकमा टक्रक्क बसेका ढुंगाले साना ठूला दुर्घटना गराइरहेका छन्,’ कार्की भन्छन्, ‘झन भिर र घुम्तीले चालकहरुलाई असहज गराएकै हुन्छ । आजको दुर्घटनामा पनि यस्तै देखिन्छ ।’ चित्लाङ घुम्न आउने र हेटौंडा जानेका लागि समेत अहिले यो कच्ची सडक निकै प्रयोग भएको उनले बताए । इलाका प्रहरी कार्यालयकाअनुसार गत वर्ष पनि यही मोडमा एउटा पिकअप भ्यान दुर्घटनामा परेको थियो । सेतो पहराको भीरबाट मोड्न नसकेर खसेको सो भ्यानमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

चित्लाङमा होटल व्यवसाय गर्ने अर्जुन ठकुरी पनि सडकको दुरावस्थाका कारण शनिबारको दुर्घटना भएको बताउँछन् । मानिसहरुको चाप बढी रहेको सडक झण्डै एक दशकदेखि अलपत्र रहेको उनको भनाई छ । चित्लाङ र चन्द्रागिरि नगरपालिकालाई सडक सुधारका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समाधान नभएको उनले बताए । 

‘आज चिकित्सकसहित ५ जनाको अकालमा ज्यान गयो, गत वर्ष २ जनाले सोही ठाउँमा ज्यान गुमाए,’ ठकुरी भन्छन्,‘बाटो बन्न अझै कतिले ज्यान गुमाउनु पर्ने हो ? सरकार र स्थानीय तहले कहिले सोच्छन ?’ सीधाकुराबाट 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय