चितवन बस दुर्घटना: त्रिशूली नदीमा खसेका दुई बस अझै फेला परेनन्

चितवन- चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकबाट त्रिशूली नदीमा यात्रुसहित खसेका दुई बस तीन दिनसम्म पनि फेला परेका छैनन्। गोताखोरसहितको टोलीले खोजी गर्दा बस भेटिएका छैनन् भने आइतबार थप ६ बेपत्ताको शव भेटिएको छ। शनिबार तीन शव भेटिएका थिए।

दुई बसमा ६२ यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। तीमध्ये तीनजनाले झ्यालबाट हामफालेर ज्यान जोगाएका थिए भने अझै ५० जना बेपत्ता छन्। शव भेटिएका पाँचजनाको पहिचान खुलेको छ: भारतीय नागरिक ऋषिपाल साह, जयप्रकाश ठाकुर, सजाद अन्सारी, सर्लाहीका रमित माझी, र चितवनका विकास परियार।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेकोे गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्स बस शुक्रबार बिहान साढे ३ बजे पहिरोले बगाउँदा त्रिशूलीमा बेपत्ता भएका थिए। खोजीकार्यमा वाटरड्रोन, ड्रोन क्यामरा, ठूलो चुम्बक र फलामको हुक प्रयोग गरिएको छ। किनारवारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भइरहेको छ।

प्रतिक्रिया