तीन कम्पनीहरूको हकप्रद शेयर आउँदै

काठमाडौँ - विभिन्न कम्पनीले पूँजी वृद्धि गर्न हकप्रद निष्कासन गर्ने भएका छन् । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर तत्काल आउने भएको छ । यी ३ कम्पनीले ६६ करोड २२ लाख रुपैयाँ बराबरको ६६ लाख २२ हजार कित्ता हकप्रद शेयर जारी गर्ने भएका हुन् । 

 

१. कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको हो । 

 

बैंकले १ सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्नेछ । हाल बैंकको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि ५० करोड रुपैयाँ चुक्ता पूँनी पुग्नेछ । 

 

हकप्रद निष्कासनका लागि बैंकले पौष २६ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले पौष २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् । 

 

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत माघ २७ गतेसम्म आवेदन दिन पाउनेछन् । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । 

 

२. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको हो । 

 

कम्पनीले १ सय रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद बिक्री गर्नेछ । कम्पनीको हाल चुक्ता पूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासपछि कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ पुग्नेछ । 

 

हकप्रद निष्कासनका लागि कम्पनीले पौष २१ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले पौष २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । 

 

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लमजुङ्गका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत फागुन २ गतेसम्म आवेदन दिन पाउनेछन् । 

 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ । 

 

३. समृद्धि फाइनान्स कम्पनी लिमिटेड

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । तर अहिलेसम्म कहिले हकप्रद जारी गर्ने भनेर मिति भने तय गरेको छैन् । तर बुक क्लोज भने गरिसकेको छ । 

 

कम्पनीले २ः१ को अनुपातमा १ सय रूपैयाँ अंकित दरमा ५० प्रतिशत अर्थात २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पूंजी ८१ करोड ८९ लाख ११ हजार ५ सय रुपैयाँ पुग्नेछ । 

 

कम्पनीले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

 

कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ पौष ११ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, पौष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले फाइनान्सलाई मंसिर २९ गते हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया