राष्ट्रपति पौडेलद्वारा स्वस्थानी र माधवनारायणको दर्शन एवम पूजा अर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङखरापुर नगरपालिकास्थित शाली नदीमा पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथा अन्र्तगतको माधवनारायण मेलामा आइतबार बिहान सहभागी हुनुभयो । 

सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवम पूजा अर्चना गर्नुभयो । साथै शालीनदीमा जल अभिषेक गर्नुभयो । 

साथै राष्ट्रपति पौडेलले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवम पूजा अर्चना गर्नुभयो । बज्रयोगिनी मन्दिर पुग्नुहुँदा शङखरापुर ८ का वडाअध्यक्ष पोटे थिङ र ४ का वडाअध्यक्ष सुनाबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गर्नुभएको थियो । 

सो अवसरमा राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु मेरा लागि खुशीको विषय हो भन्नुभयो । 

उहाँले भृकुटी र स्रङचङ गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवम ऐतिहाकिस महत्वको शाली नदी क्षेत्रको विकासको लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।  

सो अवसरमा सांसद र नगरप्रमुख एवम उपप्रमुख लगायतका जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भएपनि बज्रयोगिनी मन्दिर भग्नावशेषको अवस्थाका रुपमा रहेको, शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुननिर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गर्नुभएको थियो । उहाँहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुननिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रपति पौडेल शालीनदी पुग्नुहुँदा उहाँलाई सांसदद्धय सोविता गौतम र प्रतिमा गौतम, नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, नगर प्रमुख, उपप्रमुख, माधवनारायण मेलाका संयोजक बालकृष्ण श्रेष्ठलगायत स्थानीयवासीले स्वागत गर्नुभएको थियो । सांसदहरुले शालीनदीमा राष्ट्रप्रमुख पहिलोपटक आएकोमा स्थानीयवासिन्दा अत्यन्त हर्षित भएको बताएका थिए ।

प्रतिक्रिया