काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा १७६ जनाको मृत्यु, ८३०५ घाइते

काठमाडौं-काठमाडौं उपत्यकामा गत आर्थिक वर्ष साना-ठूला सवारी दुर्घटनामा परी १७६ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा ८ हजार ३०५ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ।

सवारी दुर्घटना न्यूनिकरणका प्रयासले अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना, मृत्यु, र घाइतेहरूको संख्यामा कमी आएको छ। गत आर्थिक वर्ष ८ हजार ८८१ वटा सवारी दुर्घटना भएको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.८ प्रतिशतले कम रहेको प्रहरी उपरीक्षक विश्वराज खड्काद्वारा जारी समाचार बुलेटिनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्ष १० हजार ६७५ सवारी दुर्घटनामा परेका थिए। अघिल्लो आर्थिक वर्ष दुर्घटनामा परेर १८७ जनाको मृत्यु भएको थियो।

यस आर्थिक वर्ष काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १० लाखभन्दा बढीलाई ट्राफिक प्रहरीले कारबाही गरी ७२ करोड ६० लाख रुपैयाँ जरिवाना संकलन गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक खड्काले जनचेतनामूलक कार्यक्रमहरूले आम सडक प्रयोगकर्ताहरूलाई ट्राफिक नियमहरूको पालना गर्न र सडक सुरक्षालाई आत्मसात् गर्न प्रेरित गरेको दाबी गर्दै सडक सुरक्षा र ट्राफिक नियमहरूबारे जनचेतना अभिवृद्धि गर्न निरन्तर रूपमा कार्यक्रमहरू सञ्चालन गरिरहेका बताए।

विद्यालय तथा कलेज केन्द्रित ट्राफिक नियमसम्बन्धी प्रशिक्षण, चालक सह-चालक केन्द्रित ट्राफिक सचेतना कार्यक्रम, सडक प्रयोगकर्ताहरूलाई सडक सुरक्षा कार्यक्रम, ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, ट्राफिक सचेतना विशेष अभियान जस्ता कार्यक्रमहरू प्रभावकारी देखिएको उनको भनाइ छ।

प्रतिक्रिया