काठमाडौं - हिन्दूहरूको पवित्र धार्मिकस्थल पशुपति क्षेत्रभित्र आरती गरेको समयमा खिचिने भिडियोमा कपीराइट आउने सूचना सार्वजनिक भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यसको चर्को विरोध गरेका छन्।
एउटा निजी कम्पनीलाई त्यस क्षेत्रको भिडियोको अधिकार दिएसँगै कपीराइट लगाउने चेतावनी दिएको थियो तर धार्मिक गतिविधिमा यस्ता खालका नियम राम्रो नहुने भन्दै धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आलोचना गरेका छन् ।
हिजो एक सूचना मार्फत आरतीको समयमा लिएका भिडियो व्यापारिक प्रयोजनका लागि प्रयोग भएमा कपराइट लगाउने जानकारी दिईएको थियो।
धेरै सामाजिक प्रयोगकर्ताहरूले पवित्र धार्मिक स्थानलाई व्यावसायिक बनाउन खोजिएको आरोप लगाएका छन्।
यस विषयमा पशुपति क्षेत्र विकास कोषले भने कुनै प्रतिक्रिया जनाएको छैन। साँझको समयमा आरती हुने हुँदा त्यसबेला धेरै भक्तालुजनहरूको घुइँचो लाग्ने गरेको छ। साथै उनीहरूले सो दृश्यलाई मोबाइलमा कैद गरी विभिन्न माध्यम युट्युब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा हाल्ने गरेका छन्। जानकारहरूका अनुसार कहीँ नभएको नियम नेपालमा लागू गरिएको भन्दै आक्रोश पोखेका छन्।
आरतीको भिडिओ कपिराइट बुढासुब्बा डिजिटलले मासिक एक लाख ६० हजार रुपैयाँमा खरिद गरेको पाइएको छ ।