इन्धन आयात घट्यो, दुई महिनामा ४३ अर्बको आयात


काठमाडौं– नेपालमा दुई महिनाको अवधिमा करिब सवा ४३ अर्ब रुपैयाँको इन्धन आयात भएको छ । पेट्रोलियम पदार्थको आयात घटेको छ । दुई महिनामा ४३ अर्ब २५ करोड रूपैयाँको डिजेल, पेट्रोल, मट्टितेल, ग्यास, हवाई इन्धन आयात भएको भन्सार विभागले जनाएको छ। पोहोर सोही अवधिमा ४४ अर्ब ६५ करोड बराबर पेट्रोलियम पदार्थ आयात भएको थियो।


अर्थतन्त्रका बाह्य सूचकमा सुधार आए पनि मुलुकको वैदेशिक व्यापारमा सुधार हुने संकेत देखिएको छैन। चालु आर्थिक वर्ष २०८१÷८२को पहिलो दुई महिनामा मुलुकको निर्यात व्यापारमा कमी आएको छ भने आयातमा पनि खासै वृद्धि भएको छैन। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको भदौसम्म निर्यात व्यापार ५.१२ प्रतिशतले गिरावट आएको छ भने आयात १.०८ प्रतिशतले मात्र सुधार भएको छ। दुई महिनामा मुलुकको व्यापार घाटा दुई खर्ब ३७ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ।  
चालु आर्थिक वर्षको साउन र भदौमा दुई खर्ब ६२ अर्ब ५४ करोड रूपैयाँको वस्तु आयात भएको भने २५ अर्ब नौ करोड रूपैयाँको मात्र वस्तु निर्यात भएको छ। साउनमा एक खर्ब २८ अर्ब र भदौमा एक खर्ब ३४ अर्ब रूपैयाँको आयात भएको हो। भदौमा दसैं, तिहारका लागि सामान आयात हुने महिना भए पनि आयात १.०८ प्रतिशतले मात्र सुधार आएको छ। स्वदेशमा खपत हुने वस्तु यहाँ उत्पादन घटेको भने होइन।


वस्तु निर्यात निरन्तर बढ्दै जानुपर्नेमा घट्दै गएको छ। भन्सार विभागका अनुसार निर्यात घटेर २५ अर्ब नौ करोड रूपैयाँमा खुम्चिएको छ। पोहोरको भदौसम्म २६ अर्ब ४४ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो। मुलुकको समग्र वैदेशिक व्यापारमा सामान्य सुधार आए पनि उत्साहजनक छैन। चालु आवको भदौसम्म कुल वैदेशिक व्यापार दुई खर्ब ८७ अर्ब ६३ करोड रूपैयाँ रहेको छ। पोहोर सोही अवधिमा कुल वैदेशिक व्यापार दुई खर्ब ८६ अर्ब १९ करोड रूपैयाँ थियो।


नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ। भारतबाट एक खर्ब ६० अर्ब रूपैयाँको वस्तु आयात भएको छ भने १५ अर्ब ९८ करोड रूपैयाँको मात्र निर्यात भएको छ। गत आर्थिक वर्ष २०८०÷८१ मा नेपालले १४ खर्ब ४० अर्बको व्यापार घाटा व्यहोरेको थियो। गत आवमा पनि आयात र निर्यात दुवै व्यापारमा संकुचन आएको थियो। निर्यात ३.०३ प्रतिशतले घटेको थियो भने आयात १.१६ प्रतिशतले घटेको थियो।
 

प्रतिक्रिया