वर्तमान समयमा फुटबल दुनियाँका महान खेलाडी लियोनेल मेस्सीका लागि आइतबारको रात ‘सुनौला रात’ सावित भएको छ । फुटबल दुनियाँमा विभिन्न उपाधि जितेपनि विश्वकपको उपाधि जित्न नसकेका मेस्सीले त्यो पनि प्राप्त गरेका हुन् ।
सम्भवतः अन्तिम विश्वकप खेलिरहेका मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका हुन् । कतारको दोहास्थित लुसेल रङ्गशालामा आइतबार सम्पन्न फाइनल खेलमा फ्रान्सलाई अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै उपाधिमा कब्जा जमाएको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितेको थियो । खेलको ३६औँ मिनेटमा डि मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । मारियाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
यसैगरी खेलको ८०औँ मिनेटमा फ्रान्सका लागि केलियन एमबाप्पेले पेनाल्टीमा गोल गरेका थिए भने त्यसको ८१औँ मिनेटमा अर्को गोल गर्दै खेल बराबरीमा पुगेको थियो । खेलको निर्धारित समयसम्म दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
अतिरिक्त समयमा पुगेको खेलमा अर्जेन्टिनाका लागि १०८औँ मिनेटमा मेस्सीले गोल गरे । लौटारो मार्टिनेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाए पनि रिबाउन्डमा मेस्सीले गोल गर्न सफल भएका थिए । अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सका लागि केलियन एमबाप्पेले फेरि पेनाल्टीमा गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए ।
अतिरिक्त समयमा दुवै टोलीले एक–एक गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा गोलरक्षक इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिना उपाधि जित्न सफल भयो । अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे । उपविजेता बनेको फ्रान्सका लागि केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे भने किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्नबाट चुके । यसअघि फ्रान्स सन् १९९८ र २०१८ मा विजेता बनेको थियो ।