काठमाडौं - सोनी पिक्चर्स नेटवर्क्स इन्डिया र जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेजबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीमा अधिकांश हिस्सा सोनीको हुनेछ । सोनीको ५०.८६%, ‘जी’ को संस्थापक परिवारको ३.९९% र बाँकी सर्वसाधारणको स्वामित्व रहनेछ । साथै, ‘जी’ का संस्थापकलाई बजारबाट २०% सम्म हिस्सेदारी पुर्याउनसक्ने विकल्प पनि दिइएको छ । डिउ डेलजेन्सको ३ महिनापछि दुई कम्पनीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
गत सेप्टेम्बर २२ मै यी दुई कम्पनीबीच मर्जर हुने घोषणा भएको थियो । त्यसबेला भने बाध्यकारी नहुने गरी मात्र सम्झौता भएको थियो । सोनी र जीबीच मर्जर प्रक्रिया सम्पन्न भएमा रेभिन्युका आधारमा भारतकै दोस्रो ठूलो मिडिया नेटवर्क बन्नेछ । मर्जरपछि बन्ने कम्पनीको स्वामित्वमा ७५ वटा टेलिभिजन च्यानल, २ वटा भिडियो स्ट्रीमिङ सेवा, २ वटा फिल्म स्टुडियो, एक डिजिटल कन्टेन्ट स्टुडियो र एक प्रोग्रामिङ लाइब्रेरी हुनेछन् ।
जी इन्टरनेन्मेन्टका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) पुनित गोयन्काका अनुसार मर्जरपछि बन्ने कम्पनीको बजार भ्याल्यू १० अर्ब अमेरिकी डलर पुग्नेछ । मर्जर सम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न हुन ८ देखि १० महिनासम्म लाग्ने बताइएको छ । यद्दपि, मर्जरको सफलता भने सेयरधनीहरुको समर्थनमा भर पर्नेछ । मर्जर अनुमोदन गर्न तीन चौथाई सेयरधनीहरुको समर्थन चाहिन्छ । जी इन्टरटेन्मेन्टमा १८% सेयर स्वामित्व भएको इन्भेस्को डेभलपिङ मार्केट फन्डले भने गोयन्कालाई सञ्चालक समितिका साथै सीइओ पदबाट हटाउनुपर्ने माग राख्दै आएको छ ।